बायर्न म्युनिखले लगातार नवौं पटक जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार दोस्रो स्थानको आरबी लेइपजिगलाई चौथो स्थानको बोरुसिया डर्टमुन्डले ३–२ ले हराएपछि बायर्नको उपाधि सुनिश्चित भएको थियो । त्यसको छोटो अन्तरमै घरेलु मैदानमा भएको खेलमा बार्यनले बोरुसिया मोन्चेनग्लाडवाचलाई ६–० को विशाल अन्तरले हरायो । बायर्नबाट  रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे भने थोमस मुलर, किङ्ग्स्ले कोम्यान र लेराई सानेले थप एक–एक गोल गरे । ७५ औं मिनेटमा तान्गाई नियान्झोले रातो कार्ड खानुअघि नै बार्यनले ५–० को अग्रता बनाइसकेको थियो । 
  १० खेलाडीमा सिमित बायर्नबाट ८५ औं मिनेटमा सानेले छैटौं गोल गरे । लिगमा अन्तिम दुई खेल सकिन बाँकी छँदा बार्यनले ७४ अङ्क बनाएको छ भने डर्टमुन्डसँग पराजित भएको दोस्रो स्थानको लेइपिगको ६४ अङ्क छ । बायर्नका रोबर्ट लेवान्डोस्कीले जारी लिगमा ३९ गोल गरिसकेका छन् ।