रासस
सुर्खेत –कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । दोस्रो लहरको हालसम्मको अवधिमा मृत्यु हुनेको सङ्ख्या पहिलो लहरको भन्दा दुई गुना बढी हो । गत वर्ष जेठदेखि चैतसम्म कर्णालीमा ४० सङ्क्रमितको मृत्यु भएको थियो भने दोस्रो लहरको शुरुआतमै यो सङ्ख्या बढेर ८२ पुगेको हो ।
निर्देशनालयका अनुसार हालसम्म एक लाख २ हजार ९ सय ९३ जनामा आरटी पिसिआर परीक्षण गरेकामध्ये १० हजार ६ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षण १० हजार २ सय ६ मध्ये १ हजार ९ सय ८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित भएकामध्ये ८ हजार ४४ जना विभिन्न आइसोलेशन तथा अस्पतालबाट निको भएर डिस्चार्ज भएसँगै कर्णालीमा अब सक्रिय सङ्क्रमित ३ हजार ८ सय १८ जना रहेका छन् ।