धनगढी – कैलालीमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल र निजी अस्पतालमा उपचाररत समेत गरेर २४ घण्टामा ९ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिकाका ५ जना, बर्दगोरिया गाउँपालिकाका २ जना, लम्कीचुहा नगरपालिकाका १ जना, कञ्चनपुरको पुनर्वास नगरपालिकाका १ जनाको मृत्यु भएको जानकारी दिएका छन्  ।

धनगढी उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ का ६१ वर्षीय पुरुष, वडा नम्बर ४ का ८१ वर्षीय पुरुष, वडा नम्बर ५ का ४३ वर्षीय पुरुष र वडा नम्बर १२ की ५० वर्षीया महिलाको मृत्यु भएको जोशीले बताए । यस्तै बर्दगोरिया गाउँपालिका–२ का ५७ वर्षीय पुरुष र ६ का ६१ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका–६ का ४२ वर्षीय पुरुष र कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको मृत्यु भएको उनले जानकारी दिए ।