काठमाडौं – गण्डकी प्रदेशमा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट कास्कीका दुई र पर्वतका एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया कोरोना सङ्क्रमित महिलाको शुक्रबार बेलुका ५ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । ती महिलामा वैशाख १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनलाई कोभिड निमोनियाको समस्या रहेको बताइएको छ ।
यस्तै पोखरा महानगरपालिका–१० का ८१ वर्षीय पुरुषको पनि शुक्रबार बेलुका ७ः२५ बजे मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनलाई शुक्रबार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसैगरी पर्वतको कुश्मा नगरपालिका–१ का ४० वर्षीय कोरोना सङ्क्रमित पुरुषको शुक्रबार बेलुका ५ः१८ बजे मृत्यु भएको छ । वैशाख ७ गते कोरोना सङ्क्रमण पुष्टि भएका ती पुरुषमा कडा खालको कोभिड निमोनिया देखिएको निर्देशनालयले बताएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।