हेटौंडा– कोनोरा महामारी बढेसँगै बागमती प्रदेशमा कोरोना भाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या तिब्र रुपमा बढेर ३६ हजार नाघेको छ । यसले बागमती र विशेष गरी काठमाडौं उपत्यका महासङ्कटमा झेलिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाए अनुसार यो प्रदेशको सबै १३ वटै जिल्लामा गरी कुल ३६ हजार २ सय २ जनामा कोराना भाइरसको सक्रिय सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३२ हजार ५ सय ६३ जना होम आइसोलेसनमा बस्दै आएका छन् ।
उक्त मन्त्रालयका अनुसार प्रदेशका विभिन्न अस्पतालले सञ्चालन गरेको आइसीयुमा ५ सय १८ जना र भेन्टिलेटरमा १ सय ८५ जना उपचाररत रहेका छन् भने संस्थागत आइसोलेसनमा २ हजार ९ सय ३६ जना रहेका छन् । कोरोना सङ्क्रमितहरुको उपचारका लागि प्रदेशमा ६ सय ३० बेडको आइसीयू ३ सय ७ बेडको भेन्टिलेटर र ४ हजार ५ सय ४६ वटा आइसोलेशन बेड तयारी अवस्थामा रहेको छ । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मृत्यु हुनेमा काठमाडौंका ३ जना महिला र ५ जना पुरुष गरी कुल ८ जनाको मृत्यु भएका छ भने ललितपुरका ४ जना, भक्तपुर, चितवन, काभ्रे, रसुवा र सिन्धुपाल्चोकका १÷१ जनाको मृत्यु भएको छ । बागमती प्रदेशमा हालसम्म दुई लाख एक हजार ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो प्रदेशमा सङ्क्रमणको दर ३१.८० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।