काठमाडौं – राष्ट्रियसभामा रिक्त रहेको सदस्यको लागि आज मनोनयन गरिंदैछ । आगामी जेठ ६ गते बिहीबारका दिन हुने राष्ट्रियसभा उप–चुनावको लागि आज राजनीति दलहरुको आफ्नो उम्मेदवारको मनोनयन गर्दैछन् । उक्त उप–चुनावको लागि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी उपेन्द्र–डा.बाबुराम खेमा र एमाले कै वरिष्ठ नेताद्वय खनाल–नेपाल समूहले डा.खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने यसअघि बुधबार नै निर्णय गरिसकेका छन् ।
प्रधानमन्त्री ओली पक्षीय एमालेको तर्फबाट माओवादी केन्द्रले कारवाही गरेको एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाउने भनेको थियो । तर गृहमन्त्री थापा आफ्नो जित सुनिश्चित् नभए उम्मेदवार नबन्ने भनेपछि सत्तारुढ ओलीसमूह एमालेले उम्मेदवार कसलाई बनाउने भन्नेमा अन्योल देखिन्छ । निर्वाचन आयोगले आज शुक्रबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्ममा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार मनोनयन गर्ने समयसीमा तोकेको छ । आजै उम्मेदवारहरुको नामावली प्रकाशित गर्ने पनि निर्वाचन आयोगले जनाएको छ ।