रासस
ओखलढुङ्गा– ओखलढुङ्गाका गाउँगाउँमा कोरोना भाइरस सङ्क्रमितहरु भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौं र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो ।
हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परीक्षण गरिएकामा थप तीन जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नौ पुगेको हो ।
सात जनाको एन्टिजेन परीक्षण गरिएकामा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४३ वर्षीय पुरुष, मोलुङ गाउँपालिका–८ की १९ वर्षीया महिला र मोलुङ हाइड्रोपवरमा कार्यरत कपिलवस्तुका २८ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये खिजीदेम्बा र मोलुङका दुई जना शहरबाट कोरोना छल्न गाउँ पुगेका व्यक्ति हुन् ।
शहरबाट गाउँ पुगेकाहरूमा कोरोनाको लक्षण देखिन थालेपछि गाउँमा त्रास बढेको छ । “गाउँमा बस्न साह्रै डरमर्दो अवस्था भयो । शहरबाट आएकाहरू जताततै हिँडडुल र खानपिन गरिरहेका छन् । गाउँ पनि अब सुरक्षित भएन”, खिजीदेम्बाका शिव घिमिरेले भने, “भर्खर गाउँ आएकाहरूमा कोरोनाको लक्षण देखियो । जाँच्दा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भयो । झन् यस्ता नवप्रवेशीका कारण गाउँमा त्रास बढ्यो ।” कोरोनाको दोस्रो लहर शुरु भएपछि ओखलढुङ्गामा हजारौं मानिस गाउँ फर्किएका छन् । उनीहरू कोही पनि क्वारेन्टिनमा बसेका छैनन् ।
गाउँगाउँमा समेत कोरोनाका सङ्क्रमित भेटिन थालेपछि सङ्क्रमितका सम्पर्कमा रहेकाहरुलाई समेत स्वास्थ्य जाँच गराउनुपर्ने माग बढेको छ । तर तत्काल लक्षण देखिएका बाहेक अन्यलाई परीक्षण गर्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।
जिल्लामा सङ्मित भएकाहरुमध्ये अस्ति बुधबारमात्र सङ्क्रमण पुष्टि भएका सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडाका एक पुरुषको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । शुरुमा जटिल समस्या देखिए पनि अहिले सङ्क्रमितको केही स्वास्थ्यमा सुधार आएको जिल्ला स्वास्थ्य प्रमुख तिवारीको भनाइ छ ।
उनका अनुसार नयाँ सङ्क्रमितहरुमध्ये खिजिदेम्बाका एक पुरुषलाई अक्सिजन दिनुपर्ने अवस्था भएकाले उनको जिल्ला सामुदायिक अस्पताल ल्याउने तयारी भइरहेको छ । खिजिदेम्बाका अर्का एक पुरुषको काठमाडौंमा उपचार भइरहेको र अरु सङ्क्रमितको अवस्था सामान्य रहेकाले उनीहरू होमआइसोलेशनमा छन् । जिल्लामा हालसम्म ४४ जनाको एन्टिजेन परीक्षण गरिएकामा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा कोरोनाको लक्षण देखिएकालाई एन्टिजेन परीक्षण विधिबाट कोरोना जाँच्ने गरिएको छ ।