काठमाडौं – सरकारले कोरोना सङ्क्रमिको उपचारका लागि झण्डै २० हजार बेड, १७ सय आईसीयू र सात सय भेन्टिलेटर रहेको जनाएको छ । गृह मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमितको उपचारका लागि देशभर ४ सय ७२ अस्पताल, १९ हजार ८ सय ८२ बेड, १ हजार ७ सय १४ आईसीयू र ६ सय ९२ भेन्टिलेटर रहेको छ । त्यस्तै ३१ अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भएको र ती अक्सिजन प्लान्टबाट दैनिक २ हजार ५ सय ४९ सिलिन्डर भर्न सकिने अवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उधृत गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
तीनवटा अस्पतालमा तरल अक्सिजन भर्न सकिने ट्यांक उपलब्ध भएको, स्वास्थ्य संस्थाहरुमा सेवा लिनका लागि प्रयोग भइरहेको अक्सिजन सिलिन्डरको संख्या छ हजार २ सय ८८ रहेको र सामान्यतया दैनिक रुपमा अक्सिजन १ हजार ४ सय ११.५ लिटर रहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिएका छन् ।