काठमाडौं –वरिष्ठ सङ्गीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ः४५ मा बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताएका छन् ।‘श्वास–प्रश्वासमा समस्या भएपछि आज बिहान अस्पताल लगेका थियौ’ सविनले भने ‘अहिले केही समय अगाडि निधन भएको छ ।’ श्रेष्ठको कोरोना रिपोर्ट भने नेगेटिभ आएको सविनले बताएका छन् ।
    वि.सं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै साङ्गीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतका गहिरो रुची राख्थे । उनको घरमा दिनहुँजसो साङ्गीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि सङ्गीतप्रति रुची बढेको हो । एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै गीतहरु अहिले पनि धेरै हिट छन् ।