काठमाडौँ – कोभिड–१९ को नयाँ भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा उच्च सतर्कताका साथ स्वास्थ्य मापदण्ड अपनाउँदा पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १ सय ३९ कर्मचारी गरी कूल १ सय ६१ जनामा कोरोना सङ्क्रमण भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरी सयभन्दा बढीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको र महामारीकै कारण सबै अदालतमा सेवा कटौती गरिएको छ ।
यसअघि नै सर्वोच्च अदालतको पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्ने निर्णय गरिसकेको थियो । अदालतले सो अवधिमा बन्दी प्रत्यक्षीकरण र कोरोनासँग सम्बन्धित रिट निवेदन बाहेक अरु सुनुवाइ नगर्ने निर्णय गरेको हो । अदालतले कारवाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा र रिट निवेदनमा रहेका हदम्याद, म्याद र तारेख नगुज्रने जनाएको छ ।