भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या दुई करोड भन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै संक्रमित थपिएसँगै कुल संख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान जारी गरेको पछिल्लो आँकडामा २४ घण्टामा तीन लाख ५७ हजार २ सय २९ जना संक्रमित थपिएका छन् । सो अवधिमा कोभिड–१९ बाट ३ हजार ४ सय ४९ जनाको ज्यान गएको छ । हाल सक्रिय संक्रमितको संख्या ३४ लाख ४७ हजार १ सय ३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
भारतमा कुल संक्रमितको संख्या दुई करोड दुई लाख ८२ हजार ८ सय ३३ पुगेको छ । यस्तै कोभिड–१९ बाट अहिलेसम्म दुई लाख २२ हजार ४ सय ८ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २ सय ७ जनाको कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ । 

अस्पतालमा शैयाको अभाव तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने संक्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् । १८ वर्ष माथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् । खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले यसअघि नै खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिइसकेका छन् ।