काठमाडौं– कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि आज मङ्गलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने बताइएको छ । उपत्यकामा कोरोनाको सङ्क्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि २२ गते बुधबार मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ भने अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ ।
 निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ । यसो त निषेधाज्ञाका बीच पनि मानिसहरुको आवातजावत र यातायातका साधनको भीडभाड सडकमा देखिएको भन्दै यसलाई थप कडाइ गर्ने तयारी भएको छ । यस्तै हाल बेलुका र बिहान दुई समय खाद्य पसल र डिपार्टमेन्टल स्टोरहरु सञ्चालनको अनुमति दिइएकामा अब बिहानको समयमा मात्रै सञ्चालन गर्न दिनेगरी निर्णय हुने बताइएको छ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनमा रोक लगाइसकेको सन्दर्भमा उपत्यका भित्रिने नाकाहरुमा पनि कडाइ गर्नेगरी छलफल भएको छ । 
यी सबै विषयमा आजको बैठकले निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनु भएको छ । यसैबीच ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आफूमा कोरोना सङ्क्रमण पुष्टि भएकाले आजको बैठकमा निरौलाले आफ्नो भौतिक उपस्थिति नरहने जानकारी दिनुभएको हो । ‘प्रविधिको प्रयोगमार्फत बैठकमा मेरो उपस्थिति हुनेछ, भौतिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारीको सहभागिता रहनेछ’, उहाँले भन्नुभएको छ । उहाँ अहिले आइसोलेशनमा बस्नुभएको छ ।