काठमाडौं – कोरोना महामारीका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमुख शहरहरुमा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ । सरकारले निषेधाज्ञा जारी गरेको हुनाले निषेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकाले पनि सुन आयात हुन कठिनाई भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपि केही जिल्लामा कारोबार सुचारु रहेकोले महासङ्घले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए । उनले अधिकांश स्थानको व्यवसाय नै बन्द रहेको, ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेको, मोफसलका केही जिल्ला र शहरहरु मात्र खुलेको हुनाले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको बताएका छन् । विगतमा पनि बन्दको बेला सुन आयात गरिँदा त्यो सुन वास्तविक व्यवसायी र ग्राहकले उपभोग गर्न नपाएको आशंका गरिएको थियो । 
 गत वर्षको बन्दमा झण्डै ५ सय किलो सुन बैंकमा थुप्रिए पनि बन्द खुलेको केही दिनमा नै उक्त सुन सकिएको थियो । तर त्यो सुन कहाँ गयो भन्ने तथ्याङ्क महासङ्घसँग नै छैन । यसर्थ फेरि पनि त्यसरी सुन गायव नहोस् भन्नेतर्फ महासङ्घ सचेत बनेको छ । सामान्यतया बैंकहरुबाट आयात हुने सुन १५ दिनपछि व्यवसायीको सिफारिस विना नै बैंकहरुले बिक्री गर्ने गरेको र सो को तथ्याङ्क माग गर्दा महासङ्घलाई तथ्याङ्क नै प्राप्त नभएको पाइन्छ । यसरी बिक्री गरिँदा त्यस्तो सुन सिमित व्यक्तिको मात्र हातमा पर्न सक्ने हुनाले यसतर्फ सचेत हुनुपर्ने आवश्यकता रहेको महासङ्घले जनाएको छ ।