पोखरा – गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले आफूलाई बदनाम गर्ने गरी विभिन्न कोणबाट अनावश्यक हल्ला चलाइएको आरोप लगाएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव पेश भइसकेको अवस्थामा आफू पनि सरकारमा सामेल भएर नेकपा एमालेभित्रको एकतालाई बलियो बनाउने प्रयास भएको भन्दै हल्ला चलाइएको उनले बताए । ‘म यस्तो बेलामा मन्त्री हुन जान्छु र ?’ उनले भने– ‘बिहान केही महोदयले मलाई सोध्नुभएको थियो तर मैले यो अवस्थामा मन्त्री हुन इच्छुक छैन भनेर प्रस्ट भनिसकेको छु ।’

 गण्डकी प्रदेशसभामा नेकपा एमालेको खनाल–माधव पक्षका एकमात्र सांसद रहेका उनले हिजो सहज परिस्थितिमा आफूलाई वास्ता नगरिएको तर अहिले अविश्वास प्रस्ताव आइसकेपछि फ्लोर क्रस गर्ने त्रासले सरकारमा सामेल गर्न खोजिएको उनको भनाइ छ । तर आफूले अविश्वास प्रस्तावमाथि मतदान हुँदा पार्टी संसदीय दलको निर्णयलाई उल्लङ्घन नगर्ने बताएका छन् । ‘मैले फ्लोर क्रस गर्छ कि भनेर उहाँहरु डराउनु पर्दैन,’ उनले भने, ‘यो उमेरमा आएर म आफ्नो करिअरलाई धरापमा पार्दिन ।’