एजेन्सी – संयुक्त राष्ट्रसङ्घले कोभिड १९ को विरुद्धमा लड्न भारतलाई सघाउने सङ्घका प्रवक्ताले बुधबार जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार कोभिड १९ को सङ्क्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रसङ्घले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो । संयुक्त राष्ट्रसङ्घका विशिष्ठ जनस्वास्थ्यविद् सहितको समूह हाल भारत पुगेको छ । साथै संयुक्त राष्ट्रसङ्घले पनि आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु भारतलाई सहयोग गरिरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसङ्घीय बाल कोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर पठाएको बताएका छन् ।

 त्यस्तै भारतका अस्पतालहरुमा आवश्यक भेन्टिलेटरहरु पनि पठाइएको संयुक्त राष्ट्रसंघले जनाएको छ । यसका साथै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसङघीय विभिन्न निकायले भारतलाई पिपिइ, पिसिआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकरणहरु पनि पठाएको जनाएका छन् । भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले २ हजार ६ सय  भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ । ती जनशक्तिको माध्यमबाट विशेषगरी महाराष्ट्रमा घुम्ती अस्पतालहरू राखिएका छन् ।

 ती अस्पतालहरुमा पिसिआर परीक्षणका साथै आवश्यक स्वास्थ्य उपचार पनि उपलब्ध गराइएको बताइएको छ । भारतमा हाल कोभिडको अवस्था निकै तिब्र गतिमा बृद्धि भएको छ । यहाँ दिनहुँ लाखौँ जना नागरिक कोभिडबाट संक्रमित हुने गरेका छन् भने कम्तीमा पनि दुई हजार जना मानिस यही संक्रमणबाट नै मृत्यु हुने गरेका छन् ।