कैलाली – कैलालीमा प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्नेमाथि कारवाही गर्न थालेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि जारी गरेको निषेधाज्ञा उल्लङ्घन हुन नदिन प्रहरीले निगरानी तथा कारवाही कडा तुल्याएको हो । निषेधाज्ञाको पहिलो दिन बुधबार मध्यान्हसम्म कैलालीमा ३५ वटा सवारीसाधनलाई प्रहरीले होल्ड गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले जानकारी दिएका छन् ।

   उनका अनुसार पहाडी क्षेत्रबाट आएको एउटा बस, ३ वटा जिप, एउटा हाईस गरी ५ वटा सवारीसाधनलाई कैलालीको फलटुडेमा होल्ड गरेको उनले बताए । यस्तै गोदावरीमा एउटा बस, ४ वटा जिप, ११ वटा ट्रक, लम्कीमा एक मोटरसाइकल, अत्तरिया क्षेत्रमा एउटा बस, टयाक्टर २, जिप १, अटो ८, मोटरसाइकल १ होल्ड गरिएको उनले बताए ।

सबै सवारी साधनलाई बेलुकामात्र छोडिने प्रवक्ता चौधरीले बताए । उनले जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको प्रहरी र ट्राफिक प्रहरीको संयुक्त गस्ती टोलीले कैलाली र धनगढी आसपासका क्षेत्रमा कडाइ गर्नुका साथै अत्यावश्यक कामबाहेक चलाईरहेका सवारी साधनलाई नियन्त्रणमा लिने काम भईरहेकोे बताएका छन् ।