काठमाडौं — आइतबार ७५ अंकले घटेको सेयर बजार सोमबार फेरि ६५ अंकले घटेको छ । दुई दिनमा नै बजार १ सय ४० अंकले घटेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी भएपछि सोमबार बजार थप ओरालो लागेको हो । यद्यपि निषेधाज्ञाका बाबजुत पनि बजार भने बन्द नहुँने भएको छ ।
६५ दशमलव ५८ अंकले घटेसँगै बजार २ हजार ५ सय ६ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ६ अर्ब ५९ करोडको कारोबार भएको छ ।
सबै समूहहरु ओरालो लागेका छन् । बैंकिङ ४०, ब्यापार १ सय २७, होटल तथा पर्यटन ७१, विकास बैंक ८८, जलविद्युत ९९, फाइनान्स २७, निर्जीवन बीमा ३ सय ८४, उत्पादन ९५, अन्य ५४, माइक्रोफाइनान्स १ सय १२, लगानी २ र जीवन बीमा ३ सय ५९ अंकले घटेका छन् ।
यस दिन दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । विशाल बजार कम्पनी र महिला लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो । आजको कारोबारपछि विशालबजारको मूल्य प्रतिकित्ता ३ हजार ८ सय ३२ रुपैयाँ कायम भएको छ भने महिला लघुवित्तको मूल्य २ हजार ३ सय ४९ रुपैयाँ पुगेको छ ।
गुमाउनेमा रिलायन्स फाइनान्स, छ्याङ्दी हाइड्रोपावर र सिन्धु विकास बैंकका लगानीकर्ता अगाडि रहेका छन् । रिलायन्सको मूल्य ८ प्रतिशतले घटेको छ भने छ्याङ्दी र सिन्धु विकासको मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।
कारोबारका आधारमा यस दिन माथिल्लो तामाकोसी अग्रस्थानमा रह्यो । सो कम्पनीको ३१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ५ प्रतिशत घटेर प्रतिकित्ता ७ सय ७० रुपैयाँमा आएको छ । त्यस्तै नेपाल इन्फास्ट्रक्चर बैंकको २५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य २ दशमलव ७ प्रतिशतले घटेर ५ सय २६ रुपैयाँ कायम भएको छ । नेपाल पुनर्बीमा, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि कारोबारका आधारमा टप फाइभभित्र पर्न सफल भएका छन् ।