काठमाडौं — यस पटक निषेधाज्ञा भएता पनि सेयर बजार बन्द नगर्ने पक्षमा नेपाल धितोपत्र बोर्ड देखिएको छ । बोर्डका अध्यक्ष भीष्म ढुंगानाका अनुसार निषेधाज्ञामा सेयर बजार बन्द हुनेछैन । यसअघि २०७६ साल चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन घोषणा गर्दा सेयर बजार पनि बन्द भएको थियो । लकडाउन घोषणा भएको दिनदेखि नै बन्द भएको सेयर बजार २०७७ सालको असार १५ गतेदेखि मात्रै खुलेको थियो ।
ढुंगाना भन्छन, ‘पहिला ब्रोकर, सिडिएससी र नेप्सेमा जानुपर्थ्यो । आफै नगइ केही काम हुँदैनथ्यो । तर अहिले काहिँपनि जानु पर्दैन । प्रविधिको विकास सँगै अनलाइन कारोबार गर्न सकिने भएको छ ।’ अनलाइन मार्फत घरबाटै सेयर कारोबार गरिने भएकाले बजार बन्द नहुने ढुंगानाले स्पष्ट पारेका छन् ।