नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरुलाई आग्रह गर्नुभएको छ । “मन की बात” नामक रेडियो कार्यक्रमको ७६औँ शृङ्खलामा बोल्ने क्रममा उहाँले स्वास्थ्यकर्मीहरुले सूचना र प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा दिन सकेमा कोरोनाभाइरस विरुद्धको लडाईं प्रभावकारी हुने बताउनुभयो । प्रविधिको प्रयोग गरेर विशेषगरी कोरोनाभाइरस सम्बन्धी सल्लाह दिने, सेवा सुविधाका बारेमा बताउने, सचेतना जगाउने लगायतका कार्य गर्नु उपयुक्त हुने उहाँको भनाई थियो ।

“स्वास्थ्यकर्मीहरु नै कोरोनाभाइरस विरुद्धको अग्रपंक्तिका लडाका हुन्, उनीहरुले नै यसमा धेरै खट्नु र सहयोग गर्नु पर्दछ,” उहाँले भन्नु भएको छ । स्वास्थ्यकर्मीहरुका विभिन्न अनुभव अहिले सबैका लागि उपयोगी हुने प्रधानमन्त्री मोदीले बताउनु भयो । विज्ञको सुझाव, सल्लाह यतिबेला अति महत्वपूर्ण हुने भएकाले उहाँहरुले प्रविधि मार्फत आफ्नो ज्ञान बाँडिरहनु पर्नेमा उहाँले जोड दिनुभयो । कोरोनाभाइरसबाट धेरै प्रभावित भएको भारतमा अहिले दैनिक झण्डै साढे तीन लाख मानिस सङ्क्रमित हुने गरेका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४९ हजार ६ सय ९१ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतभरी गरेर कुल दुई हजार ७ सय ६७ जनाको कोरोनाकै कारणले मृत्यु भएको छ । ––रासस