काठमाडौं — साताको पहिलो दिन आज सेयर बजारमा ७५ अङ्कको पहिरो गएको छ । ७५ दशमलव ७९ अङ्क घटेसँगै नेप्से परिसूचक २ हजार ५ सय ७२ अङ्कमा कायम भएको छ । यस दिन कारोबार रकम भने केही बढेको छ । कुल ७ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस दिन बैंकिङ ४२, ब्यापार १ सय १३, होटल तथा पर्यटन २ सय २०, विकास बैंक ८६, जलविद्युत १ सय १२, फाइनान्स ४३, निर्जीवन बीमा ४ सय ४०, उत्पादन १ सय ३६, अन्य ४७, माइक्रोफाइनान्स १ सय ६०, जीवन बीमा ४ सय ६० र लगानी समूह ३ अङ्कले घटेका छन् । महिला लघुवित्त र विशालबजार कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ । आजको कारोबारपछि महिला लघुवित्तको मूल्य प्रतिकित्ता २ हजार १ सय ३६ र बिशाल बजारको ३ हजार ४ सय ८४ रुपैयाँ कायम भएको छ । तीसहित कुल ७ कम्पनीबाहेक सबैको मूल्य यस दिन घटेको छ ।
अघिल्लो दिनसम्म १० प्रतिशतले बढेको ज्योति लाइफ इन्स्योरेन्सको मूल्य आज घटेको छ । कम्पनीको मूल्य आज ३ दशमलव ८ प्रतिशतले घटेर प्रतिकित्ता ८ सय ७३ रुपैयाँ कायम भएको छ । पछिल्लो पटक खुलेका जीवन बीमा कम्पनीमध्ये ज्योतिको वित्तीय स्थिति बलियो नै रहेको छ । कम्पनीको मूल्य १ हजार नाघ्ने चर्चाका वावजुत आजदेखि मूल्य घटेको हो ।
कम्पनीको मूल्यले १ हजार नै नछोइकन अर्थात अधिकतम ९ सय ९८ रुपैयाँसम्म पुगेर फर्किएको हो । कारोबारका आधारमा सो कम्पनी दोस्रो स्थानमा रह्यो । निफ्राको सबैभन्दा धेरै ३९ करोड रुपैयाँ बराबरको कारोबार भयो । कम्पनीको मूल्य भने करिब ४ प्रतिशतले घटेर ५ सय ४१ रुपैयाँमा झरेको छ ।
कारोबारका आधारमा तेस्रो स्थानमा रहेको माथिल्लो तामाकोसीको मूल्य ५ प्रतिशतले घटेको छ । २५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा कम्पनीको मूल्य ८ सय १४ रुपैयाँमा झरेको छ । नबिल र एनआइसी एसिया बैंक पनि कारोबारका आधारमा टप फाइभभित्र पर्न सफल भएका छन् ।
चन्द्रागिरि हिल्सको मूल्य सबैभन्दा धेरै ८ दशमलव ४३ प्रतिशतले घटेको छ । आजको कारोबारपछि कम्पनीको मूल्य प्रतिकित्ता १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको छ । नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८ दशमलव १ प्रतिशतले घटेर ५ सय २७ रुपैयाँमा झरेको छ । त्यस्तै रिडी हाइड्रोपावरको मूल्य ७ दशमलव ६ प्रतिशतले घटेर २ सय ५ रुपैयाँ कायम भएको छ ।