काठमाडौं – त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेल केही बेरमा नेपाल र नेदरल्याण्ड्सबीच शुरु हुँदै छ ।  नेदरल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपाल सिरिज हातपार्ने दाउमा हुनेछ । नेपालले जारी सिरिजमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ । फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलमा पुगेको हो ।

  नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई नौ विकेटले पराजित गरेको हो भने नेपाल तेस्रो खेलमा नेदरल्याण्डस्सित तीन विकेटले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो । यस्तै नेदरल्यान्ड्सले दुई खेलमा जीत निकाल्यो भने एक खेल बराबरी खेलेको थियो । एउटा खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो । पहिलो खेलमा नेदरल्याण्डस्लाई पराजित गरेकाले नेपाली टोलीको मनोबल उच्च रहेको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन् । घरेलु खेल मैदान भएका कारण पनि नेपाल नेदरल्याण्डस्माथि हाबी हुने उनको विश्वास छ । 

  नेपालको हालसम्म ब्याटिङ राम्रै रहेको र आजको खेलमा पनि त्यसैलाई निरन्तरता दिनसके जीतन कठिन नहुने कप्तान मल्ल बताउनुहुन्छ । खासगरी प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल जारी सिरिजको लयमा छन् । उनले लगातार तीन अद्र्धशतक प्रहार गरेका छन्  नेदरल्याण्डस्सितको पहिलो खेलमा भुर्तेलले ६१, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्डस्सितको दोस्रो खेलमा ६२ रन बनाएका थिए । ब्याटिङमा नेपालका लागि आसिफ शेख, कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र करण केसी भरपर्दा खेलाडी हुन् । नेपालको बलिङ लइन पनि बलियो नै छ । खासगरी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरिरहेका छन् । उनले चार खेलमा ११ विकेट लिएका छन् । यस्तै नेपालका लागि करण केसी, सोमपाल कामी र कमलसिंह ऐरी पनि भरपर्दा बलर हुन् । 
 यी बाहेक अन्य खेलाडीको प्रदर्शन पनि राम्रै रहेको कप्तान मल्लको भनाइ छ । त्रिवि मैदानमा नेपालले पहिला ब्याटिङ गर्दै २०० रनको स्कोर पार गर्ने लक्ष्य हुनेछ । समग्रमा नेपाली टोली पहिलो पटक घरेलु मैदानमा टि–२० सिरिज जीतने लक्ष्यका साथ मैदानमा प्रवेश गर्नेछ । नेपालले पहिलो पटक युनाइटेड अरब इमिरेट् (युएइ)लाई सन् २०१९ मा उसकै भूमिमा टि–२० सिरिज २–१ ले जीतेको थियो । फाइनल खेल दिउँसो सवा एक बजे शुरु हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । नेपाल समूह विजेता तथा नेदरल्याण्डस् उपविजेताका रुपमा सिरिजको फाइनलमा प्रवेश गरेको हो ।