काठमाडौं – गण्डकी प्रदेश काँग्रेस संसदीय दलको बैठक बस्दै छ । आगामी रणनीतिबारे आज शनिबार दिउँसो काँग्रेसले आन्तरिक छलफल गर्न लागेको हो । नयाँ सरकार निर्माणका लागि आइतबारलाई गण्डकी प्रदेशसभाको विशेष अधिवेशनका आह्वान गरिएको छ । यस विषयमा छलफल गर्न शनिबार काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले आन्तरिक छलफल गर्दै छन् । 

 मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमों) र जसपाबीच समझदारी भएको छ । उनीहरुसँग बहुमत देखिएकाले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित जस्तै देखिएको छ । काँग्रेसले गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।

 बैशाख २ मा गण्डकीमा काँग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यद्वारा हस्ताक्षर गरिएको अविश्वासको प्रस्तावमा नेपालीलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तावित गरिएको छ । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरे पनि प्रस्तावको पक्षमै मतदान गर्ने बताइसकेको छ ।