एजेन्सी — एफए कपको सेमिफाइनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सीले पेप ग्वार्डिओलाको यो सिजन चारवटा उपाधि जित्ने सपना चकनाचुर बनाइदिएको छ । शनिबार राति भएको खेलमा चेल्सी १–० गोलले विजयी भएको हो । यो हप्ता सिटी र चेल्सी दुवैले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएका थिए । तर, पेपको टोलीसँग चारवटा उपाधि जित्ने सम्भावना रहेको थियो । प्रिमियर लिग उपाधिनजिक रहेको सिटीले अप्रिल २५ मा टोटनह्यामविरुद्ध लिग कपको उपाधिका लागि भिड्दैछ ।
तर, हाकिम जियेचले टिमो वेर्नरको पासमा खेलको निर्णायक गोल गरेपछि चेल्सीले प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । चेल्सीले अब लेस्टर सिटी र साउथ ह्याम्पटनबीचको विजेतासँग फाइनलमा भिड्नेछ । सिटीले च्याम्पियन्स लिगको खेलको टोलीमा ८ वटा परिवर्तन गरेको थिए । दास्रो हाफमा केभिन डि ब्रुयना घाइते हुँदै मैदान छाडेपछि पेपका लागि थप चिन्ताको विषय बनेको छ ।