काठमाडौं — नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, बागमती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिनुभयो । प्रदेश बोर्डमा एमाले संसदीय दलका नेता पौडेल, प्रमुख सचेतक पाण्डे, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरूण नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्वती बाटी रहनुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री पौडेलले तीन सदस्य मनोनीत गर्नु हुनेछ । संसदीय दलको आजको बैठकले संसदीय दलको संशोधित विधानलाई पारित गर्ने निर्णयसमेत गरेको प्रमुख सचेतक पाण्डेले बताउनुभयो ।