काठमाडौं — प्रदेशसभामा आज विश्वासको मत लिने तयारीमा रहनुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले साथ नदिने भएको हो । कर्णाली प्रदेशसभामा तत्काल कायम ३९ सांसदहरुमध्ये नेकपा एमालेसँग २० सांसदहरु रहेका छन् । १३ सांसद रहेको माओवादी केन्द्रले आफ्ना एक सांसदमाथि कारवाही गरिसकेका कारण माओवादीसँग १२ जना सांसदहरुमात्र रहेका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नका लागि ६ सांसद रहेको कांग्रेसको समर्थनले मात्र पनि पुग्दैन, एक सिट रहेको राप्रपाका अतिरिक्त एमालेका कम्तीमा दुई सांसदले फ्लोर क्रस गर्नुपर्ने हुन्छ । माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन कम्तीमा पनि २० जना सांसदहरु आवश्यक पर्दछ । २० सांसद एमालेसँगै रहेको अवस्थामा एमालेका सांसदले फ्लोर क्रस गरेनन् भने मुख्यमन्त्री शाहीले विश्वासको मत लिन नसक्ने प्रस्ट भएको छ ।
त्यसमा पनि राप्रपाले प्रदेशसभामा तटस्थ भूमिका निर्वाह गर्ने निर्णय गरिसकेका कारण सरकारलाई विश्वासको मत लिन झनै चुनौतीपूर्ण हुने देखिएको छ । राप्रपाका सचिवालय सदस्य राजाराम बर्तौलाका अनुसार बिहीबार पार्टीका प्रमुख ३ नेताहरुको बैठकले सरकार बनाउने र ढाल्ने खेलमा राप्रपा सहभागी नहुने निर्णय समेत गरेको छ ।
उनले भने ‘हामीले सरकार बनाउन पनि समर्थन जनाएका थिएनौं, त्यो सरकार जोगाउनका लागि पनि मत दिँदैनौं र ढाल्नका लागि पनि भूमिका निर्वाह गर्दैनौं,’ ।