काठमाडौं — रूरू जलविद्युत आयोजनाको आइपिओको बाँडफाँड भोलि हुने भएको छ । बिक्री प्रवन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार आइपिओ बाँडफाँडको सबै तयारी सकिएको छ । भोलि बिहान ८ बजे यस आयोजनाको आइपिओ बाँडफाँड हुने भएको छ ।
कम्पनीको आइपिओ करिब १६ लाख ७१ हजार जनाले भरेका छन् । कम्पनीले अङ्कित मूल्य १ सय रुपैयाँमा २० रुपैयाँ थपेर प्रतिकित्ता १ सय २० रुपैयाँ मूल्यमा आइपिओ निष्कासन गरेको थियो । सर्वसाधारणका लागि ३ लाख ७९ हजार १ सय ६७ कित्ता सेयर बिक्रि गरिनेछ ।
यस हिसावले ३७ हजार ९ सय १० जनाले मात्र १० कित्ताका दरले र तिमध्येबाट ७ जनाले ११ कित्ताका दरले सेयर पाउने संभावना रहेको छ । कम्पनीको वित्तीय विवरणअनुसार प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीले गुल्मी जिल्लामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।
धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ताका दरले बाँडफाँड गर्नुपर्नेछ । यो कम्पनीमा सबैलाई १० कित्ताका दरले बाँडफाँड गर्न पुग्दैन । ३७ हजार ९ सय १० जनालाई १० कित्ताका दरले बाँडफाँड गरेपछि ७ कित्ता बाँकी रहन्छ । त्यसैले ७ कित्तालाई १–१ कित्ताका दरले तिनैमध्येबाट ७ जनालाई थपेर दिइने भएको छ ।