काठमाडौं — चीनको आयात र निर्यात दुबै गत मार्च महिनामा वृद्धि भएको छ । मंगलबार सार्वजनिक विवरणमा अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोरोनाभाइरस (कोभिड–१९) लाई नियन्त्रणमा लिएसँगै अर्थतन्त्रमा निरन्तर सुधार आएको देखिएको छ ।
पछिल्ला दिनहरुमा मुख्य विदेशी बजारहरुमा चिनियाँ सामानको माग बढेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरस विरुद्धको खोपको प्रभाव र कोभिड विरुद्धका प्रतिबन्धहरु खुकुलो बनाएसँगै चिनियाँ अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको र आगामी केही महिना यही स्थिति रहने चीनको भनाई समेत रहेको छ ।
चीनको आयातमा पूर्वानुमान गरेझैं अघिल्लो वर्षको तुलनामा ३८ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । यसै वर्षको जनवरी र फेब्रुअरीमा २२ दशमलव २ प्रतिशतले आयातमा वृद्धि भएकामा गत मार्च महिनामा सन् २०१७ फेब्रुअरी यताकै यो सबैभन्दा ठूलो वृद्धि भएको हो ।
निर्यातमा पनि ३० दशमलव ६ प्रतिशतले वृद्धि भएको छ र यो सन् २०१८ यताकै सबैभन्दा बढी हो । यद्यपी ब्लुमबर्गले चीनको निर्यात ३८ प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरेको थियो । चिनियाँ भन्सार प्रशासनको तथ्याँकमा चीनको समग्र व्यापार बचत १३ दशमलव ८ अर्ब डलर रहेको उल्लेख छ । संयुक्तराज्य अमेरिकासँगको व्यापार बचत पनि अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भई २१ दशमलव ४ अर्ब डलर पुगेको छ । —रासस