काठमाडौं —कोभिड–१९ ले थलिएको पर्यटन पुनरुत्थान तथा प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटले नीतिगत सुधारका साथै आवश्यक बजेटको व्यवस्था गरिने संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले बताउनु भएको छ । सोमबार पर्यटन बोर्डमा आयोजित ‘आजको पर्यटन चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले यस्तो बताउनु भएको हो ।

यो पटक बजेट निर्माणमा थुप्रै सीमितता भएपनि पर्यटन पुनरुत्थानका लागि चालिनु पर्ने कदम र भावी नीतिका विषयमा बजेट ब्यवस्थापन गर्न प्रधानमन्त्रीसँग छलफल भइसकेको समेत उहाँले जानकारी दिनुभएको छ ।

ढकालले पहिले जस्तो अवस्था नभएपनि कोभिडले पर्यटन क्षेत्रलाई बढी प्रभावित गरेकोले यसको पुनरुत्थनाका लागि आफुले विशेष पहल गरेको बताउनु भएको छ ।

‘अहिले अवस्था सजिलो पक्कै छैन सबैलाई जानकारी नै छ । तर कोभिडको दोस्रो चरणको संक्रमण बढ्दै जाँदा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सर्तकताकासाथ अघि बढ्नु पर्ने अवस्था छ । यसको बाबजुद पनि पर्यटन क्षेत्रको उत्थानका लागि सरकार डटेर लागेको छ’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामेश्वर फुयाँलले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रकै मेरुदण्डका रुपमा विकास गर्ने गरी योजना बनाइएपनि बजेट अभावमा त्यसको कार्यान्वयन जटिल बनेको बताए । उनले यो समयमा पूर्वाधार विकाससँगै मानव संसाधन विकासमा समेत जोड दिन निजी क्षेत्रलाई आग्रह गरे ।

त्यस्तै पर्यटन मन्त्रालयका सचिव यादव प्रसाद कोईरालाले अहिलेको परिस्थिती पहिलेभन्दा फरक रहेपनि सरकार निजी क्षेत्र मिलेर नै यसलाई अगाढि बढाउनु पर्ने अवस्था रहेको बताउँदै बजेटमा पर्यटन पुर्नरुत्थान र प्रर्वद्धनका लागि मन्त्रालयले सक्दो पहल गर्ने बताए ।

यता,पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधार देखि अन्तर निकाय समन्वय र बजेटको आवश्यक्ता भएको बताएका छन् । उनले नेपाललाई सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तार देखि पर्यटन मैत्री नीति बनाउन आवश्यक रहेको बताए ।

नेपालको हिमाल,पहाड र तराईको पर्यटन प्रवर्द्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको जानकारी दिँदै डा.रेग्मीले त्यसको लागि सरकारले नीतिगत रुपमा सहजीकरण गरेर निजी क्षेत्रलाई आर्कषित गर्नु पर्ने धारणा व्यक्त गरे ।

बोर्डका निवर्तमान कार्यकारी प्रमुख दीपकराज जोशीले मन्त्रालयगत हुने कतिपय अन्य बजेट कटौती गरेर भएपनि पर्यटन क्षेत्रको पुनरुत्थानलाई बजेट बिनियोजन हुनु पर्ने उल्लेख गर्दै भिजा फ्रिको अवधारणा समेत आजको आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा पर्यटन होटल संघ नेपाल हानका अध्यक्ष सिर्जना राणा,नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुल बहादुर गुरुङ,प्यासिफिक ट्राभल एशोसिएसन पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे,बोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटा,पर्यटक यातायात व्यवसायी महासंघका अध्यक्ष रामहरी शर्मा,टानका महासचिव सरिता लामा,पर्यटन व्यवसायी मेघ आले,विजय झुनझुुनवाला,संर्घष विष्ट लगायतले सरकारले समस्यामा परेका व्यवसायीलाई राहत दिने गरी नयाँ बजेटमा व्यवस्था हुनुपर्ने,कोभिडको कारण बन्द रहेको समयका करहरू मिनाहा हुनु पर्ने लगायतका माग राखेका छन् । उनीहरुले पर्यटन व्यवसायलाई बचाउन र चलायमान बनाउन राज्यले सहयोग नगरे व्यवसायीहरु पलायन हुने स्थिती आउने बताएका छन् ।