काठमाडौं — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको मृत्यु भएको छ । वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमार्फत् आफ्ना माइला भाइ गोविन्दराजको मृत्यु भएको जानकारी दिनु भएको छ । पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए । आफ्नो राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गरेका भाइको निधनबाट आफूले एक्लो महसुस गरिरहेको पनि उहाँले बताउनु भएको छ ।
उहाँले लेख्नुभएको छ, ‘मेरा प्यारो माइला भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ । हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए । प्रिय भाइ नाताले भाइ भए नि मेरो साथी जस्तै गरी सबै कुरामा सहयोगी थिए । मेरो राजनीति जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले म आफुलाई एक्लो भएको महशुस गरेको छु । प्रिय भाइ गोविन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु ।