काठमाडौं – परापूर्वकालदेखि काठमाडौं उपत्यकामा मनाईंदै आएको पुरानो सामाजिक जात्राको रुपमा घोडेजात्रालाई लिने गरिन्छ । आर्यहरुले मूर्तिपूजा गर्न सुरु गरेपश्चात् विभिन्न देवी देवताका अवतार, वहान वग्गी तथा रथका सहायक र यज्ञका प्रमुख वस्तुको रुपमा घोडालाई स्थापित गरेपछि जात्रामा पनि घोडालाई सरिक गराउने प्रथाबाट यो जात्राले मनोरञ्जन प्रदान गर्दै आएको हो । विशेष गरी नेवारी समुदायले देवीदेवताको पूजा गरी जात्रा मनाउने चलन चलाएर पाहाँ चल्हेलाई घोडेजात्रा भन्न थालेको किवदन्ती छ । प्राचीनकालमा एसियाकै ठूलो मैदान भनेर चिनिने काठमाडौंको मुटुमा रहेको टुँडिखेलमा घोडेजात्रा देखाइनु र देशकै उच्च ओहदादेखि सर्वसाधारण नागरिकसम्मले नेपाली सेनाको कला प्रदर्शनको रुप हेर्न पाउनुले पनि यो जात्राको विशेषता बढ्न पुगेको पाइन्छ । उपत्यकाको टुँडिखेलमा मात्र सीमित यो जात्राले अहिले राष्ट्रिय महत्व पाउन सफल बनेको छ ।
प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औंसी, तिथिका दिन बिहानै नेपाली सेनाले जुद्ध सडकमा अवस्थित रेवन्त पीठमा बोकाको बलि चढाएर जात्रा सुरु भएको जानकारी दिने गर्दछन् । महिनौँ अघिदेखि घोडालाई तालिमप्राप्त बनाउँदै आएका नेपाली सेना र नेपाल प्रहरीहरुले टुँडिखेलमा घोडासवारीका विभिन्न कला कौशलहरुको प्रदर्शनी गरेर मनोरञ्जन प्रदान गर्ने गर्दछन् । प्रतिस्पर्धात्मक रुपमा घोडालाई दौडाउने गरिदा टुँडिखेलमा घोडेजात्रा हेर्नेको घुइँचो देखिन्छ । सनातन धर्मावलम्बीहरुको अवतारित सिद्धान्त अनुसार विष्णुको दसौँ अवतार कल्की फुर्तिलो घोडामा चढेर पृथ्वीमा अवतरित भई धारिलो तरवारले अन्याय, अत्याचार र शोषणको अन्त्य गरेकोले घोडालाई सौन्दर्य र यौनको प्रतीक मान्न थालिएको पुरातन मान्यता पाइन्छ ।

यस पर्वको नामबाटै प्रस्ट हुन्छ घोडेजात्रा पर्वले घोडाप्रतिको सम्मान दर्शाएको छ । यस पर्वले नेपाली सेनाका जवानहरुले प्रदर्शन गर्ने खेलका विभिन्न कलाकौशलले सर्वसाधारण, राष्ट्रका प्रमुख अतिथि, लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई मनोरञ्जन प्रदान गर्ने गरेको छ तर धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार टुँडिखेलमा वासस्थान भएका भूतप्रेत पिचाशलाई घोडाको टापले कुल्चिएर जमिनमाथि आउन नदियोस् भन्ने परम्परा रहेको छ । किंवदन्ती मान्यताअनुसार पहिला पहिला टुँडिखेलमा टुँडि नाम गरेको राक्षस बस्ने गर्दथ्यो । उक्त राक्षसले काठमाडौं वासीलाई निक्केै दुःख दिने गर्दथ्यो । जब चैत्र कृष्णपक्ष औंसी तिथिका दिन सो टुँडि राक्षसको मृत्यु भयो, तब काठमाडौंवासी निकै खुसी भए । हरेक दिन एकजना मानिसलाई मारेर आफ्नो भोजन बनाउने राक्षस मरेको खबरले काठमाडौं वासी जनताहरु सबै खृुसी भएर टुँडिखेलमा जम्मा भई ठूलो उत्सव मनाउने क्रममा घोडा चढेर टुँडि राक्षसको शरीरमाथि आफुहरु नाचेको भन्ने ऐतिहासिक प्रसङ्गहरु भेटिन्छन् । त्यसपछि तात्कालीन राजाले हरेक वर्ष टुँडिखेलमा टुँडि राक्षसको दुष्ट आत्मा जमिनभन्दा माथि उठ्न नसकोस् भन्ने अभिप्रायका साथ घोडा दौडाउने प्रचलन बसालेका थिए ।

विशेष गरी बालबालिकाहरुलाई मुर्कट्टा, किचकन्नी, भूत जस्ता नकारात्मक पक्षहरुले दुःख नदेयोस् भनी चतुर्दशी तिथीका दिन उपत्यकावासी नेवारहरुले आ–आफ्नो घर अगाडि खनेर जमिनमूनि मुर्ति स्थापना गरी रङ्गीचङ्गी फूल र भूतप्रेतलाई मनपर्ने मिठाई, गेडागुडी, फलफूल लगायत खानेकुरा चढाएर चित्त बुझाईने तथा सो दिन चित्त बुझाउन नसकेका भूत पिचासको आत्मालाई औंसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा रहेकोले घोडेजात्राका दिन राष्ट्र प्रमुख देखि सर्वसाधारणसम्म सबैका लागि सार्वजनिक बिदा दिने प्रचलन रहेको हो ।
यही प्रचलन हरेक वर्ष चल्दै आएपछि चैत्र कृष्णपक्ष औंसीका दिन काठमाडौंको टुँडिखेलमा घोडेजात्रा मनाउने परम्पराले निरन्तरता पाउँदै आएको छ । प्रारम्भमा काठमाडौं वासीले मात्र मनाउने यो जात्रा विस्तारै ललितपुर र भक्तपुरमा पनि मनाउन थालिएको छ । घोडेजात्राका दिन जति तीव्र गतिमा घोडा दौडाइन्छ उति नै बढी टुँडि राक्षसको आत्मा धसिने परम्परावादी मान्यता अझै कायमै छ । मूलतः दु्रत गतिमा घोडालाई दौडाएर यो पर्वलाई मनाइने भएकोले दैत्यमाथि विजय भएको खुसियालीका रुपमा मात्र नभई देशमा शुभमंगल हुने विश्वासले पनि प्रत्येक वर्ष घोडेजात्रा पर्वलाई मनोरञ्जन पूर्ण तरिकाले मनाउने गरिन्छ । —लक्ष्मी बास्कोटा