काठमाडौं — सिंगटी हाइड्रोपावरको आइपिओ आज बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा आज बिहान ११ बजे आइपिओको बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जना आवेदकहरुबाट शेयर माग भएको थियो । त्यसमध्ये १५ लाख ५९ हजार ८ सय २ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको मेघा क्यापिटलले जानकारी दिएको छ ।
योग्य आवेदकहरुमध्ये २ लाख ६९ हजार ७ सय जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । १२ लाख ९० हजार १ सय २ जनाको हात भने खाली भएको छ । कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँडगरिएको थियो । बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो ।
सर्वसाधारणले मेरो शेयर कम्पनीको वेबसाइट मा गइ नतिजा हेर्नसक्ने भएका छन् । दोलखाको कालिन्चोक गाउँपालिकामा कम्पनीले सिंगटी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । समग्रमा आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले दावी समेत गरेको छ ।
कुल २५ मेगावाट क्षमताको यस आयोजनाको प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ । कुल ५ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । ७० प्रतिशत सेयर संस्थापक समूहको छ भने १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि र बाँकी २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी हुन लागेको हो । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब १ करोड रहेको छ ।
केयर नेपालले यस कम्पनीको आइपिओलाई बीबी माइनसको रेटिङ प्रदान गरेको छ । यसले दायित्व पुरा गर्न कम्पनी मध्यम अवस्था रहेको संकेत गर्छ । गत पुसमै आयोजना सम्पन्न गर्ने लक्ष्य राखेकोमा विद्युत गृह परीक्षणको काम बाँकी रहेको कम्पनीले जानकारी दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।