काठमाडौं — सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत एक प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी जवान कासिन्दर यादवलाई घुस रकमसहित पक्राउ गरेको हो ।
उनलाई ४० हजार घुस रकम सहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभएको छ । ईलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी ‘मिलाइदिन्छु’ भनेर उनले सेवाग्राहीसँग घुस रकम मागेका थिए ।
मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज नजिकैबाट आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । घुस प्रकरणबारे आयोगले अनुसन्धान गरिरहेको छ ।