एजेन्सी — भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुल्कर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सचिन १ हप्ताअघि अस्पतालमा भर्ना भएका थिए । ४७ वर्षीय सचिनले २७ मार्चमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिएका थिए । त्यसको ६ दिनपछि उनलाई मुम्बई अस्पतालमा भर्ना गरिएको थियो ।
सचिनले आफू घर फर्किएको र अझै आइसोलेसनमा रहेर आराम गर्ने पनि जानकारी दिएका छन् । उनले भनेका छन् ‘मेरो स्वास्थ्यलाभको कामना र प्रार्थना गर्ने सबै जनालाई धन्यवाद दिन चाहन्छु,’ ।
तेन्दुलकरले सन् २०१३ मा क्रिकेटबाट सन्यास लिएका थिए । यसक्रममा उनले २ सय टेस्टमा १५ हजार ९ सय २१ रन र ४ सय ६३ एकदिवसीय खेलमा १८ हजार ४ सय २६ रन बनाएका छन् । आफ्नो २४ वर्षे करियरमा १ सय शतक बनाएका छन् ।