पोखरा —नेपाल पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वीलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । बिहीबार बिहान सम्पन्न मतगणनाको नतिजा निर्वाचनमा पौडेलले ३० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्यले २७ मत प्राप्त गरेका थिए । निर्वाचित पौडेल प्रेस चौतारीका तर्फबाट उमेदवार बनेका थिए ।
पत्रकार महासङ्घ म्याग्दीका कुल ६२ जना मतदाता मध्य ५८ मत खसेको थियो । त्यसैगरी उपाध्यक्षमा हरिकृष्ण गौतमले (२९ मत), महिला उपाध्यक्षमा रुद्र कुमारी खत्री (३०), सचिवमा सन्तोष गौतम (२९), कोषाध्यक्षमा अमित बिश्वकर्मा (३०), सहसचिवमा प्रमोद शर्मा (३२), समावेशी सहसचिवमा साधन घर्ती राम्जाली (२९) मत पाएर निर्वाचित भएका छन् ।
यसैगरी खुल्ला सदस्यतर्फ कृष्ण जिसी (३२), सन्दिप खत्री (३१), कमल खत्री, अमृत बास्कुने, सन्दिप शर्मा रिजालले ३०÷३० मत प्राप्त गरेर विजयी भएका छन् । दलित सदस्यमा पदम बिश्वकर्माले (३०), समावेशी सदस्यमा नजराना सिंह ठकुरीले २९ मत ल्याएर विजयी भएका छन् । आचार्यको समूहबाट मनोनयन दर्ता गरेका सबिता बानियाँ र धु्रवसागर शर्मा केन्द्रिय परिषद् सदस्यमा निर्विरोध भएका छन् ।
त्यसैगरी महिला सदस्य पदमा आचार्य समूहकी जेनिसा पुरी निर्विरोध भएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार सुदर्शन कुमार श्रेष्ठ निर्विरोध भएका थिए भने प्रदेश परिषद सदस्यमा निर्मल खत्री, बिक्रम बोगटी, अमर बानियाँ र देवीप्रसाद शर्मा निर्विरोध भएका हुन् ।