काठमाडौं — कर्णाली प्रदेश सरकारका ३ जना मन्त्रीले आज राजीनामा दिन लागेका छन् । पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलले आज राजीनामा दिन लागेका हुन् ।
आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले एमालेका तर्फबाट मन्त्री भएका तीनै जनाले नै सामुहिकरुपमा राजीनामा दिन लागेको जानकारी दिएका छन् ।
मन्त्री ज्वालाले भने ‘हाम्रो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेकाले आजै हाम्रो राजीनामा आउँछ’, । यसअघि आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा एमालेका २० र माओवादी केन्द्रका १३ जना सांसदहरु रहेका छन् । यो प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही रहेका छन् । यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।