काठमाडौं — नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभाको सतौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी केन्द्रले औपचारिक रुपमा उक्त प्रस्ताव फिर्ता लिने भएको हो ।
गत पुस १२ गते तत्कालीन नेकपाको माधव नेपाल र प्रचण्ड समूहका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर सर्वाेच्च अदालतले माओवादी केन्द्र र एमालेलाई पुरानै अवस्थामा फर्काइदिएपछि चैत १७ गते माधव नेपाल समूहले प्रस्ताव फिर्ता लिएका थियो ।
अविश्वासको प्रस्ताव पास नहुने अवस्था आएपछि माओवादी केन्द्रले बैठकबाट नै फिर्ता लिन लागेको हो । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार आज बस्ने बैठकमा प्रस्तावक र समर्थकको सम्बोधनपछि प्रस्ताव फिर्ता हुने भएको छ ।
गत महिनाको पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएपछि माघ ७ गते सातौं हिउँदे अधिवेशन आह्वान गरिएको थियो । तर सत्तापक्षीय दलभित्रको विवादका कारण बैठक बस्न सकेको थिएन । गत पुस १२ गते दर्ता भएको प्रस्तावमा माधव नेपाल समूहका २२ र प्रचण्ड समूहका १५ जनाले हस्ताक्षर गरेका थिए ।
९३ जना सदस्य रहेको प्रदेशसभामा एमालेका ५१ सांसद्हरु रहेका छन् । कांग्रेस माओवादी र साना दल एक ठाउँ उभिदा प्रदेशमा ४२ मात्रै सदस्यहरु रहेका छन् । प्रदेशसभामा सरकार निर्माणका लागि ४७ सांसद्हरुको आवश्यक पर्छ ।