एजेन्सी — आर्सनललाई उसैको घरेलु मैदानमा हराउँदै लिभरपुलले प्रिमियर लिगको शीर्ष चारमा रहने सम्भावना कायम राखेको छ । आर्सनललाई ३–० को अन्तरले पराजित गर्दै लिभरपुल चौथो स्थानमा रहेको चेल्सीभन्दा मात्र २ अङ्कले पछि रहेको छ ।
खेलमा आर्सलनमाथि पुरै दबाब बनाएको लिभरपुलले पहिलो गोलका लागि भने ६४ औं मिनेटसम्म पर्खनु परेको थियो । डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए भने मोहमद शलाहले ४ मिनेटपछि अग्रता दोब्बर बनाएका थिए । जोटाले ८२ औं मिनेटमा अर्को गोल गर्दै लिभरपुलको जीत सुनिश्चित गरे ।
३० खेलपछि पाँचौ स्थानमा रहेको लिभरपुलको ४९ अङ्क रहेको छ भने आर्सनल ३५ अङ्कसहित नवौं स्थानमा सिमित रहेको छ । शनिबार नै भएको खेलमा चौथो स्थानमा रहेको चेल्सी वेस्ट ब्रोमिच आल्बियोनसँग आफ्नै घरेलु मैदानमा २–५ गोलले स्तब्ध बन्यो । खेलको २७ औं मिनेटमा क्रिस्टिन पुलिसिचको गोलको मद्दतले अग्रता लिएको चेल्सीले २ मिनेट पछि दोस्रो पहेलो कार्ड खाएका थियागो सिल्भालाई गुमायो । त्यसपछि भने वेस्ट ब्रोमले चेल्सीमाथि गोलको वर्षा गर्यो ।
माथेयस परेराले पहिलो हाफको इन्जुरी समयमा २ गोल गर्दै वेस्ट ब्रोमलाई अग्रता दिलाए । क्यालम रोबिनसनले खेलको ६३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । मबाय डियाग्नेले खेलको ६८ औं मिनेटमा गोल गर्दै स्थिति ४–१ मा पुर्याए । मेसन माउन्टले ७१ औं मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे पनि रोबिनसनले इन्जुरी समयमा गोल गर्दै वेस्ट ब्रोमको जीत सुनिश्चित गरे ।