काठमाडौं – एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकाउटका आधारमा खेलाइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख ब्रजेश महर्जनले जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा भाग लिन श्रीलङ्कन टोली चैत २२ र २३ गते काठमाडौं आउने भएको छ । उक्त प्रतियोगिताका हेर्नका लागि विशिष्ट श्रेणीका लागि रु ५ सय र साधारणतर्फ रु ३ सय शुल्क कायम गरिएको बताइएको छ । सो प्रतियोगिताको तयारीका लागि आर्मीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । प्रतियोगिताका लागि रु २० लाख खर्च लाग्ने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनुभयो । आर्मी क्लबले श्रीलंका टिमलाई सशक्त प्रतिस्पर्धी टिमकैरुपमा लिएको जनाएको छ ।