ताइवान – ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु भएको छ । ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् । प्रहरीले कम्तिमा ३६ जनाको मृत्यु भएको जनाएको छ भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पु¥याइएको छ । अधिकारीहरुले तटीय शहर हुलियान नजिकको सुरुङ नजिक एउटा मर्मत कार्यमा प्रयोग गरिएको सवारी साधनले तिब्र गतिमा दौडिरहेको रेललाई ठक्कर दिएको अनुमान गरेका छन् । हुलियान शहरका प्रहरी प्रमुख चाई डिङ–हेसियानले निर्माण कार्यमा प्रयोग भइरहेको एउटा सवारी साधन रेलको लिकमा खसेका कारण रेल दुर्घटना भएको बताउनुभयो । स्थानीय संचार माध्यमले रेलको नजिकै एउटा ट्रक क्षेतविक्षत अवस्थामा रहेको तस्वीर प्रकाशन गरेका छन् । उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान ९.३० बजे भएको थियो । ––रासस