उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तिमा पनि २९ जना नागरिकको मृत्यु भएको बताइएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो ।
त्यस आक्रमणमा परेर कम्तिमा २९ जना सर्वसाधारण नागरिकहरुको ज्यान गएको समाचारमा जनाइएको छ । बेनीको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी दिएको छ । ती नागरिकहरु सो क्षेत्रका स्थानीय रहेका पनि समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँका १ गाउँमा भएको सो हमलामा स्थानीय नागरिकहरुकै हत्या भएको पाइएको छ ।
त्यसमा परेर अन्य ४ जना विद्रोही पनि मारिएका छन् । ती विद्रोहीहरु गाउँलेले प्रतिकार गर्ने क्रममा ज्यान गएको समाचारमा जनाइएको छ । सो क्षेत्रमा अरु कम्तिमा पनि ५० जना सर्वसाधारण हराएका छन् । उनीहरुलाई ती विद्रोहीहरुले अपहरण गरेर लगेको यहाँको सैनिक स्रोतले जानकारी दिएको छ । हत्याको कारण भने अझै खुल्न सकेको छैन । यहाँको सैनिकले ती हत्याराहरुको खोजी जारी रहेको पनि समाचारमा बताएको छ । – रासस