काठमाडौं — रुरु जलविद्युत आयोजनाको आइपीओ आज चैत २० गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले १ सय २० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १ सय ५४ कित्ता कर्मचारीको लागि र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुको लागि छुट्याइएर बाकि रहेको ३ लाख ७९ हजार १ सय ६७ कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्ने भएका छन ।
कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गरेको हो । यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिने भएको छ । सो समयमा आइपीओ पुरै बिक्री नभएमा यस जलविद्युतको आइपीओ वैशाख ३ गतेसम्म बिक्री खुला हुनेछ ।
रुरु जलविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवदेन दिएका सबैले यसको आइपिओ हात पार्ने देखिदैन । किनभने १० कित्ताका दरले वित्तरण गर्दा पनि ३७ हजार ९ सय १६ जनालाई पुग्छ । यसकारण रुरुको आइपिओ पाउन भाग्यमा नै भर पर्नुपर्ने अवस्था छ ।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । इक्रा नेपालले रुरु जलविद्युत परियोजनालाई ग्रेड ३ को रेटिङ दिएको छ । ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ ।