फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गर्नुभएको यहाँका समाचार माध्यमहरुले जानकारी दिएका छन् ।
उहाँले गत राति सो कुराको घोषणा गर्नुभएको छ । राष्ट्रपति म्याक्रोँले देशैभरिका प्राथमिक तहका विद्यालयहरु ३ हप्ताका लागि बन्द हुने घोषणा गर्नुभएको हो । उहाँले राष्ट्रिय टेलिभिजन प्रसारणबाट घोषणा गर्दै भन्नुभएको थियो यदि अहिलेकै अवस्था कायम रह्यो भने यसले सिंगो युरोपमा भन्दा पनि हामीलाई बढी प्रभावित पार्नेछ, त्यसैले लकडाउनको कुनै विकल्प देखिएको छैन ।
उहाँले ३ हप्ताका लागि सम्पूर्ण देशबासीहरुलाई धैर्य गरेर आफ्नो ख्याल गर्न भन्नुभएको छ । यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने उहाँले सो सम्बोधनका क्रममा बताउनुभएको थियो ।
कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्समा यसअघि पनि दुई पटकसम्म लकडाउन भएको थियो । त्यो बेला २ महिना लकडाउन लागु भएको थियो ।
पछिल्लो समय महामारीको तेस्रो लहरबाट प्रभावित भएको फ्रान्सका राष्ट्रपति म्याक्रोँले टेलिभिजन सम्बोधन मार्फत शनिबारदेखि लागु हुने गरी पुनः लकडाउन गर्ने घोषणा गर्नुभएको हो । यो पटकको लकडाउन कम्तीमा ३ हप्ताका लागि गरिएको बताइएको छ । लकडाउनमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्र टाढाको यात्रा गर्न र कार्यालय समयमा निकै सतर्कता अपनाउन भनिएको छ ।
फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण ज्यान गुमाउनेको सङ्ख्या करिब ६ महिना यताकै धेरै देखिएको पनि बताइएको छ । फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउनको घोषणासँगै युरोपको वित्त बजारका साथसाथै आर्थिक अवस्थामा पनि नराम्रो अवस्था देखिने अनुमान समेत गरिएको छ । — रासस