जिल्ला आयुर्वेद स्वास्थ केन्द्र सिन्धुलीले गोलन्जोर गाउँपालिकामा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ७५ जना लाभान्वित भएका छन् । केन्द्रले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले बुधबार आयोजना गरिएको शिविरमा उच्च रक्तचाप, मधुमेह, हाडजोर्नीका बिरामीलाई स्वास्थ परीक्षण गर्नुका साथै औषधि वितरण र पञ्चकर्म विधिबाट उपचारसमेत गरिएको थियो । यता जिल्लको तीनपाटन गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकका लागि आयुर्वेदिक औषधि वितरण गरिएको छ । तीनपाटन गाउँपालिका आयुर्वेदिक शाखाले नागरिकको घरदैलोमै पुगेर आयुर्वेदिक औषधि वितरण गरिएको हो । ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था, खानपानको स्तर, रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता के–कति छ भनी स्वास्थ्य परीक्षण गराउने गरिएको छ । साथै अस्वस्थ ज्येष्ठ नागरिकलाई औषधि तथा भिटामिन वितरण गरिएको आयुर्वेदिक शाखाका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिनुभयो । उक्त कार्यक्रमअन्तर्गत वडा नं १० का ६० वर्षभन्दा माथिका २ सय २० ज्येष्ठ नागरिकले सेवा लिएका छन् । तीनपाटन–९ का २ सय ५०, वडा नं ५ का २ सय ३५, वडा नं ६ का ३ सय ४० ज्येष्ठ नागरिकले सुविधा लिएको उहाँको भनाइ छ । –––रासस