भारतमा गत २४ घण्टामा ५३ हजार ४ सय ८० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेको छ । सो अवधीमा कोरोना भाइरस सङ्क्रमणबाट ३ सय ५४ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६२ हजार ४ सय ६८ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । कूल सङ्क्रमितमध्ये पाँच लाख ५२ हजार ५ सय ६६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ३४ हजार ३ सय १ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ३० लाख भन्दा बढीले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ३६ लाख ७२ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा दश लाख २२ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ । –––रासस