काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली फुटबल हेर्नको लागि आज (सोमबार) दशरथ रंगशाला जाने भएका छन् । थ्री नेशन्स कपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्नेको लागि प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ रंगशाला जाने भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ सवा ५ बजेतिर रंगशाला पुग्नेछन् ।
खेल अवधिभर प्रधानमन्त्री केपी शर्मा ओली रंगशालामै हुनेछन् । खेल सकिएपछि प्रधानमन्त्री ओलीले विजेता टीम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गर्ने जनाइएको छ ।
राउण्ड रोबिनका दुवै खेलमा नेपालले किर्गिस्तान र बंगलादेशविरुद्ध गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले भने किर्गिस्तानमाथि १–० को जित हात पारेर फाइनलको यात्रा तय गरेको हो ।