काठमाडौं – संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको आज विहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा मृत्यु भएको छ । धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय लक्ष्मीदेवी भण्डारी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
सदस्य लक्ष्मीदेवी भण्डारीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै सभापति शेरबहादुर देउवाले भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै, उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।