काठमाडौं – चीन सरकारले नेपालको लागि अनुदानमा दिएकोे कोरोना भाइरस विरुद्धको खोप आज बिहान काठमाडौं आइपुगेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३ सय ३० जहाजबाट उक्त खोप आज काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् ।
नेपाल एयरलाइन्सको जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो । सो जहाज आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
चीन सरकारले कोरोना भाइरस विरुद्धको ‘भेरोसेल’ खोपको ८ लाख डोज नेपाललाई उपलब्ध गराएको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्तखोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।
विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु जानकारी दिएका छन् । यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ ।
यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपालको लागि अनुदानमा उपलब्ध गराएको थियो ।