ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको बिहीबार जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६ सय ८५ पुगेको छ । ब्राजिलमा गत २४ घन्टामा ८९ हजार ९ सय ९२ भन्दा बढी कोरोना भाइरसका संक्रमित विरामी भेटिएका पनि सो समाचारमा जनाइएको छ । ब्राजिलका गत मंगलबार कोरोना भाइरसको प्रकोपबाट एकै दिनमा तीन हजार २ सय ५१ जनाको मृत्यु भएको थियो । यसअघि यही मार्चको २८ तारिखका दिन यहाँ कोरोना भाइरसबाट दुई हजार ८ सय ४१ जनाको मृत्यु भएको थियो र सो संख्या नै एकै दिन सबैभन्दा बढीको मृत्यु भएको बताइएको थियो । ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीले जानकारी दिएका हुन् । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । पछिल्लो पटक यहाँ भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा सङ्क्रमित भेटिन थालेको समाचारमा जनाइएको छ । यहाँका अस्पतालमा निकै ठूलो संख्यामा संक्रमित रहेका छन् भने पछिल्ला दिनमा आइसियुमा रहेका नागरिकको संख्या पनि ठूलो भएको बताइएको छ ।