काठमाडौं — आज सेयर बजारको परिसूचक नेप्से २१ अङ्कले घटेको छ । उक्त अङ्कको गिरावटसँगै नेप्से २ हजार ५ सय ४८ अङ्कमा कायम भएको छ । आजको दिन कुल ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
ब्यापार १ सय ७४, होटल तथा पर्यटन १ सय ५४ र लगानी समूह १ अङ्कले बढे भने अरु सबै समूह घटेका छन् । बैंकिङ १९, विकास बैंक १९, जलविद्युत ४४, फाइनान्स २, निर्जीवन बीमा ५४, उत्पादन ४९, अन्य ३७, माइक्रोफाइनान्स ४७ र जीवन बीमा समूह १ सय ६९ अंकले घटे ।
चन्द्रागिरि हिल्सको मूल्य आज पनि १० प्रतिशतले नै बढेको छ । कम्पनीको मूल्य प्रतिकित्ता १ सय ८९ रुपैयाँले बढेर २ हजार ७९ रुपैयाँ कायम भएको छ । त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य पनि १० प्रतिशतले बढ्यो ।
कम्पनीको मूल्य प्रतिकित्ता २ हजार २ सय २९ रुपैयाँ रहेको छ । ओमी माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९ सय ७३ रुपैयाँ कायम भएको छ ।
सिद्धार्थ इन्स्योरेन्स र माउन्टेन हाइड्रोको मूल्य ७ प्रतिशतभन्दा धेरैले वृद्वि भएको छ । बोटलर्स नेपालको मूल्य ६ प्रतिशतले बढ्यो । नेपाल बंगलादेशको मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । नबिलसँग मर्जको हल्ला चलेपछि अकस्मात बढेको कम्पनीको मूल्यमा यस दिन सुधार आएको हो। नेपाल बंगलादेश बैंकको मूल्य प्रतिकित्ता ३ सय ६७ रुपैयाँ कायम भयो । हिमालय उर्जा विकास, सान्जेन र रसुवागढी जलविद्युतको मूल्य ४ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रहेको छ । सो कम्पनीको ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा मूल्य ४ प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ८ रुपैयाँ कायम भएको छ ।
माथिल्लो तामाकोसीको आज २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो भने मूल्य केही घटेर प्रतिकित्ता ७ सय ७५ रुपैयाँ कायम भएको छ ।