काठमाडौं – भारतमा ५३ हजार ४ सय ७६ जना थप व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या १ करोड १७ लाख ८७ हजार ५ सय ३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट २ सय ५१ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या १ लाख ६० हजार ६ सय ९२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।
सोही अवधीमा यहाँँ कूल सङ्क्रमितमध्ये ३ लाख ९५ हजार १ सय ९२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल १ करोड १२ लाख ३१ हजार ६ सय ५० जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ५ करोड ३० भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जानकारी दिएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ७५ लाख ३ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा १० लाख ६५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ । –रासस